समाचार
दिगो स्थानीय आर्थिक विकास : सहकारी र उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न
दिगो स्थानीय विकासलाई संस्थागत गर्न स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसँग लिसंखु पाखर गाउँपालिका अध्यक्ष श्री कमल प्रसाद नेपालको विशेष अनुरोधमा प्रतिष्ठान, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गाउँपालिकाको आयोजनामा दिगो स्थानीय आर्थिक विकासलाई अगाडि बढाउने योजनाको प्रारम्भिक खाका तयारी समेत गर्ने गरी प्रशिक्षण सञ्चालन भएको छ । मिति २०७७ माघ १२ देखि १६ सम्म संचालित दिगो स्थानीय आर्थिक विकास : सहकारी र उद्यमशीलता प्रशिक्षण सञ्चालनकै अवधिमा गाउँ कार्यपालिकाका पदाधिकारी, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख तथा सरोकारवालाहरूको सहभागितामा दिगो स्थानीय आर्थिक विकास : सहकारी र उद्यमशीलता योजनाको प्रारम्भिक खाका तयार गरिएको छ । यसलाई परिमार्जन सहित लागू गराउन कार्यपालिकाको बैठकद्वारा पारित गरिसकेको छ । साथै यसलाई संस्थागत गर्न उपाध्यक्षको संयोजकत्वमा ११ सदस्यीय दिगो स्थानीय आर्थिक विकास निर्देशन समिति गठन भएको छ भने स्थानीय आर्थिक विकासका सवालहरूमा निरन्तर संवादलाई संचालन गर्न सरोकारवालाहरूको भेला गरी दिगो स्थानीय आर्थिक विकास प्रवर्द्धन संवाद मञ्चको गठन गरिएको छ ।
यसै गरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र गाउँपालिकाको संयुक्त प्रयासमा पालिकाका संभावित उद्यमीहरूलाई व्यवसायिक योजना तयार गराउने उद्यमी प्रयोगशाला गोष्ठी संचालन गरी २५ जना नव उद्यमीहरू लाभान्वित भएका छन् । निकट भविष्यमा नै यी उद्यमीहरूले गाउँपालिकाको उत्पादन र रोजगारीमा योगदान दिने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय स्तरका स्रोत व्यक्तिहरू श्री मणिराम सिंह महत, प्रा.डा. विनोद कृष्ण श्रेष्ठ, श्री फटिक थापा र श्री धनपति खरेल संलग्न हुनुहुन्थ्यो भने स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक श्री जयकृष्ण श्रेष्ठ तथा कार्यक्रम फोकल पर्सन श्री योगमाया सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको शुभारम्भ गाउँपालिकाका अध्यक्ष श्री कमल प्रसाद नेपालको अध्यक्षतामा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पितकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।